इनरुवा, ११ मंसिर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा कृषि सिँचाइका लागि सञ्चालन गरिएको विद्युतीकरण कार्यक्रमको उद्घाटन १०७ वर्षीया ज्येष्ठ नागरिक कैली देवी मण्डलले गरेकी छन्।
शुक्रबार देवानगञ्ज गाउँपालिका–५ की मण्डललाई गाजाबाजासहित कार्यक्रमस्थलमा ल्याएर स्थानीयवासीको उत्साहपूर्ण सहभागिताबीच कार्यक्रम उद्घाटन गराइएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले किसान र कृषि पेसाको समृद्धिका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए।
अध्यक्ष मेहताका अनुसार कृषि सिँचाइका लागि विद्युतीकरण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा १० करोड रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा १२ करोड रुपैयाँ लगानी गरिएको छ। उक्त लगानीबाट २८ वटा ट्रान्सफर्मर जडान भइसकेका छन्।
त्यसैगरी, कार्यक्रमको तेस्रो चरणका लागि ७ करोड रुपैयाँको ठेक्का लागिसकेको र कामसमेत अघि बढिरहेको उनले जानकारी दिए। तेस्रो चरणमा थप ८ वटा ट्रान्सफर्मर जडान गरिनेछ।
देवानगञ्ज गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको यो कार्यक्रममार्फत गाउँपालिकाका सातवटै वडाका किसानलाई लक्षित गरी खेत–खेतमा विद्युत् सेवा विस्तार गरिएको छ।
विद्युतीकरण कार्यक्रमले सिँचाइका लागि हुने खर्च घटाउनुका साथै कृषि उत्पादन वृद्धि र कृषिको आधुनिकीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्युत् सेवाको सहज उपलब्धताले किसानलाई सिँचाइमा आत्मनिर्भर बनाउँदै देवानगञ्जको कृषि क्षेत्रको विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गाउँपालिकाले लिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि, कर्मचारी, किसान, बुद्धिजीवी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।