काठमाडौँ, ११ पुस। नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। आजै परराष्ट्रमन्त्रीमा नियुक्त भएका शर्माले राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्। शर्माको शपथसँगै मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। साथै कूटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारी तथा संवैधानिक अङ्गका प्रमुखहरूको समेत सहभागिता थियो।
परराष्ट्रमन्त्री शर्मा नेपाली सेनाका पूर्वरथी हुन्। तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि गठित सेना समायोजन प्राविधिक समितिको संयोजकका रूपमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरेका छन्। सेनाको विभिन्न तहमा नेतृत्वदायी जिम्मेवारी सम्हालेका उनी अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि झन्डै चार वर्ष विदेशमा खटिएका थिए। माओवादी लडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने प्रक्रियामा उनको भूमिका निर्णायक मानिन्छ।