इनरुवा, १४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच एकीकरण गर्ने निर्णय भएको छ । एकतासँगै अशोक राई नेतृत्वको जसपाका केही नेताहरू समेत एकीकरण प्रक्रियामा सहभागी भएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेपछि जसपाका सह–अध्यक्ष रेणु यादव, प्रदीप यादवलगायत नेता तथा कार्यकर्ताहरू एकतामा जोडिएका हुन् ।
दुवै पार्टीले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गर्दै एकीकरणको निर्णय गरिएको बताएका छन् । जारी विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायत अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यले एकीकरण गरिएको उल्लेख गरिएको छ ।
उल्लेखनीय छ, १० वैशाख २०७७ मा तत्कालीन संघीय समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भएर जसपा बनेको थियो । तर डेढ वर्ष नपुग्दै २०७८ भदौ दोस्रो साता जसपा विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोसपा गठन भएको थियो । त्यसपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग हुँदै अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो ।
२०६३ सालपछि उपेन्द्र यादव र महन्थ ठाकुर मधेशको प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएका नेताहरू मानिन्छन् । हालको एकीकरणलाई मधेश राजनीतिमा नयाँ समीकरणको सुरुवातका रूपमा हेरिएको छ ।