काठमाडौं, १४ पुस । ‘जेनजीका माग पूरा गर’, ‘निर्वाचन धोका हो’ लगायतका नारा लगाउँदै केही युवाहरूले निर्वाचन आयोग परिसरभित्रै निर्वाचन प्रक्रिया बन्द गर्न माग गर्दै नाराबाजी गरेका छन्।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची पेस गरिरहेको समयमा आयोगभित्र नाराबाजी भएको हो।
निर्वाचन प्रक्रिया तत्काल रोक्न माग गर्दै युवाहरूले ‘हत्यारालाई कारबाही गर’ लगायतका नारा समेत लगाएका थिए। नाराबाजीका कारण केही समय आयोग परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
नाराबाजी बढेपछि सुरक्षाकर्मीहरूले उनीहरूलाई निर्वाचन आयोग परिसरबाट बाहिर निकालेका छन्।