काठमाडौँ, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व तथा थरुहट–थारुवान अभियन्ताहरूबीच ९ बुँदे सहमति भएको छ । उक्त सहमतिपछि थारु अभियन्ताहरू औपचारिक रूपमा रास्वपामा समाहित भएका छन् ।
सोमबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा थारु अभियन्ताहरू रास्वपामा प्रवेश गरेका हुन् । सहमतिपत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित तथा थरुहट–थारुवान अभियन्ता लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा सामाजिक न्यायसहितको प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन स्थापना गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै परिवर्तनकामी शक्तिहरू एकजुट हुनुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी, २०८२ साल भदौमा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यमा इमान्दार कार्यान्वयनप्रति प्रतिबद्ध रहने उल्लेख छ ।
सहमतिपत्रअनुसार रास्वपाको दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहने, ‘घण्टी’ नै चुनाव चिन्ह कायम रहने तथा केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमति भएको छ ।
लैङ्गिक, जातीय, वर्गीय तथा क्षेत्रीयलगायत सबै प्रकारका संरचनागत विभेदको निर्णायक सम्बोधन गर्दै संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी सिद्धान्तप्रति प्रतिबद्ध रहने सहमति गरिएको छ । साथै, थारु बहुल क्षेत्रलाई ‘थारु संरक्षित विशेष क्षेत्र’ घोषणा गर्न कानुनी र संवैधानिक प्रक्रिया अघि बढाइने उल्लेख छ ।
सहमतिपत्रमा टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै रास्वपाको नेतृत्वमा संघीय सरकार गठन भएपश्चात शान्ति सुरक्षा सुधारसम्बन्धी उच्चस्तरीय आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ । निजामती, न्यायिक, प्रहरीलगायत सरकारी सेवामा आरक्षित अनुपातअनुसार थारु समुदायको आरक्षण पूर्ण रूपमा लागू गर्ने विषय पनि समेटिएको छ ।
भूगोल, जनसंख्या, क्षमता र सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका विषयमा सर्वदलीय सहमतिका लागि पहल गर्ने उल्लेख गरिएको छ ।