विराटनगर, ११ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट अन्य, दलित र महिला समूहअन्तर्गत तीनैजना गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी खेमराज सुन्दासले २ हजार ३७ मतभार प्राप्त गरे।
त्यस्तै, महिला समूहअन्तर्गत गठबन्धनकै उम्मेदवार रोशनी मेचे ७ हजार १७३ मतभारसहित निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नमिता न्यौपानेले २ हजार २६८ मतभार प्राप्त गरिन्।
निर्वाचनमा स्थानीय तहतर्फ २६७ मध्ये २५८ जनाले मतदान गरेका थिए भने प्रदेश सभातर्फ ९२ मध्ये ८७ जनाले मतदान गरेका थिए। मतभार प्रणालीअनुसार स्थानीय तह सदस्यको मतभार १९ र प्रदेश सभा सदस्यको मतभार ५३ तोकिएको थियो।
अन्य समूहअन्तर्गत कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बीच गठबन्धन गरी सिट बाँडफाँट गरिएको थियो। सहमतिअनुसार कांग्रेसलाई ९, एमालेलाई ८ र जसपा नेपाललाई १ सिट भागबन्डा गरिएको छ। नेकपा र जनमोर्चा भने एक्लै निर्वाचनमा उत्रिएका थिए।