सुनसरी–४ : ज्ञानेन्द्र कार्कीलाई रास्वपाबाट कडा टक्कर

कार्कीलाई नजिकबाट सहयोग गर्दै आएका केही नेता–कार्यकर्ता यसपटक उनको चुनावी अभियानमा अपेक्षाकृत निष्क्रिय देखिनु पनि असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।
Logo
Popular News बुधबार, माघ १५, २०८२

इनरुवा, १४ माघ । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४ मा आसन्न निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रतिस्पर्धा चर्किँदै गएको छ। पटक–पटक निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीलाई यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबाट कडा चुनौती देखिएको छ, जसका कारण यहाँको चुनावी माहोल थप रोचक बनेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा कांग्रेसका तर्फबाट ज्ञानेन्द्र बहादुर कार्की र नेकपा (एमाले) का तर्फबाट जगदीश कुशियैत फेरि आमनेसामने छन्। पुरानै प्रतिस्पर्धा दोहोरिए पनि यसपटक रास्वपाका उम्मेदवार इञ्जिनियर दीपक कुमार साह मैदानमा उत्रिएसँगै चुनाव त्रिपक्षीय बनेको छ।

यसैगरी, नेपाली कम्यूनिष्ट पार्टी बाट महफुज अन्सारी र जनता समाजवादी पार्टी नेपालबाट सविता यादवसहितका उम्मेदवारको उपस्थितिले सुनसरी–४ को चुनावी प्रतिस्पर्धा अझ बहुपक्षीय बनेको छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन कांग्रेस–माओवादी केन्द्रसहितको सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका ज्ञानेन्द्र कार्की झिनो मतान्तरसहित विजयी भएका थिए। उक्त निर्वाचनमा एमालेका जगदीश कुशियैत ११२ मतले पराजित हुँदै उपविजेतामा सीमित भएका थिए। त्यसअघि २०७४ सालको निर्वाचनमा पनि कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गर्दै जीत हासिल गरेका थिए।

तर यसपटकको निर्वाचन कार्कीका लागि सहज नहुने संकेत देखिन थालेको छ। भोजपुरबाट आएर पटक–पटक सुनसरी–४ बाट उम्मेदवार बन्ने विषयलाई लिएर कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ। ‘स्थानीयलाई अवसर नदिई बाहिरबाट आएका उम्मेदवारलाई निरन्तर टिकट दिइयो’ भन्ने गुनासो कार्यकर्ता तहमा व्यापक रूपमा सुनिन थालेको छ। कार्कीलाई नजिकबाट सहयोग गर्दै आएका केही नेता–कार्यकर्ता यसपटक उनको चुनावी अभियानमा अपेक्षाकृत निष्क्रिय देखिनु पनि असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।

यता, रास्वपाका उम्मेदवार इञ्जिनियर साहले आक्रामक रूपमा चुनावी अभियान अघि बढाएका छन्। स्थानीय तहमा उनको पक्षमा जनसमर्थन बढ्दै गएको दाबी गरिँदैछ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को लोकप्रियताले घण्टी चिन्हप्रति आकर्षण बढेको र त्यसको प्रभाव सुनसरी–४ मा पनि पर्न सक्ने आँकलन गरिएको छ। यही कारणले यसपटक कार्कीको जित चुनौतीपूर्ण हुने स्वयं उनका केही समर्थकहरूले समेत स्वीकार गर्न थालेका छन्। साथै, कार्कीमाथि सीमित व्यक्तिको प्रभावमा रहने र आम नागरिकका गुनासा नसुन्ने आरोप स्थानीयस्तरमा उठ्ने गरेको छ।

अर्कोतर्फ, एमाले उम्मेदवार जगदीश कुशियैतको चुनावी अभियान पनि सहज देखिँदैन। पार्टी अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिहरू, विशेषगरी मधेश र मधेशी समुदायप्रति लक्षित भनाइले यस क्षेत्रको मतपरिणाममा नकारात्मक प्रभाव पार्न सक्ने स्थानीयको बुझाइ छ।

यी सबै कारणले सुनसरी–४ को निर्वाचन यसपटक अत्यन्त प्रतिस्पर्धात्मक र सबैको चासोको विषय बनेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800