इनरुवा, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मंगलबार मधेश प्रदेशका विभिन्न जिल्लामा चुनावी भेटघाट गर्ने भएका छन्।
उनको सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार शाहले सप्तरीदेखि महोत्तरीसम्मका जिल्लामा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष साक्षात्कार तथा भेटघाट गर्नेछन्।
बालेन शाहको मधेश यात्रा मंगलबार बिहान साढे ८ बजे सप्तरीको सप्तकोशी नगरपालिकाबाट सुरु हुनेछ। कार्यतालिका अनुसार बिहान ८ः४५ बजे कञ्चनरुप (घण्टी घर), ९ः१० बजे हनुमाननगर र ९ः२० बजे सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ को सदरमुकाम राजविराज (घण्टी घर) पुग्ने कार्यक्रम छ।
त्यसपछि बिहान १०ः१० बजे डाक्नेश्वरी नगरपालिका र १०ः२० बजे बोधेबर्साइन नगरपालिकामा आयोजना गरिएका कार्यक्रममा उनी सहभागी हुनेछन्। सप्तरीको कार्यक्रम सम्पन्न गरेपछि बालेन शाह सिराहातर्फ प्रस्थान गर्नेछन्।
सिराहामा उनको कार्यक्रम निकै व्यस्त रहनेछ। त्यहाँ भगवानपुर, नवराजपुर, बरियारपटी, औरही चोक, सुखीपुर जिरोमाइल घण्टी घर, गोलबजार, चोहर्वा, मिर्चैया, कल्याणपुर बजार तथा सिराहा बजारमा स्थानीय जनतासँग भेटघाट गर्ने तालिका तय गरिएको छ।
सिराहाको भ्रमणपछि बालेनको टोली धनुषातर्फ लाग्नेछ। दिउँसो १ः३५ बजे कमला पुल पार गरी तिनकौरिया चोक, १ः५० बजे यदुकुवा, २ः१० बजे प्रसिद्ध धार्मिक स्थल धनुषाधाम र २ः४० बजे नगराइनमा कार्यक्रम तय गरिएको छ।
त्यसैदिन अपरान्ह ३ बजे महोत्तरीको सदरमुकाम जलेश्वर पुग्ने बालेन शाह ३ः२० बजे एकदरा र ३ः४० बजे बलवा–सर्पल्लोमा स्थानीयसँग भेटघाट गर्नेछन्।
मंगलबारको सम्पूर्ण भ्रमण साँझ ४ः१० बजे बर्दिबास पुगेर समापन हुने सचिवालयले जनाएको छ।