इनरुवा, ७ फागुन। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय सङ्कटको घडीमा सिकारु शक्तिलाई देश जिम्मा लगाउन नहुने बताएका छन्। उनले परिपक्व र अनुभवी शक्तिलाई नेतृत्व दिनुपर्ने जिकिर गरेका हुन्।
सुनसरीको धरानमा सुनसरी–१ का काँग्रेस उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै शर्माले नेपालमा सिर्जना भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान् दल नेपाली काँग्रेस मात्रै भएको दाबी गरे।
निर्वाचनको मैदानमा ‘आँधी–हुरी’ चलेको बेला पनि देशको बागडोर सम्हाल्न सक्ने शक्ति काँग्रेस मात्र भएको उल्लेख गर्दै उनले राज्य सञ्चालन खेल नभई गम्भीर जिम्मेवारी भएको बताए। इतिहासदेखि नै सङ्कटको घडीमा देशलाई सही दिशामा अघि बढाएको दाबी गर्दै उनले यसपटकको निर्वाचन राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताए।
तत्कालीन माओवादीको १० वर्षे जनयुद्ध अन्त्य गर्न र माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन काँग्रेसले निर्णायक भूमिका खेलेको स्मरण गराउँदै शर्माले ‘बन्दुकले बन्दुकको समाधान हुँदैन’ भन्ने सिद्धान्तमार्फत गिरिजाप्रसाद कोइरालाले देशलाई रक्तपातबाट जोगाएको बताए। संविधान निर्माणको संवेदनशील घडीमा सबै पक्षलाई समेटेर अघि बढ्ने काम पनि काँग्रेसले नै गरेको उनको भनाइ थियो।
शर्माले काँग्रेसलाई परिपक्व माझीको संज्ञा दिँदै सङ्कटको बेला अनुभवी नेतृत्व आवश्यक हुने बताए। नयाँ पुस्ताको आक्रोश र मागलाई सम्बोधन गर्न सक्ने शक्ति पनि काँग्रेस नै भएको उनको दाबी छ। फागुन २१ गतेको निर्वाचनका लागि १६५ क्षेत्रमध्ये १०६ क्षेत्रमा नयाँ अनुहार उम्मेदवार उठाइएको उल्लेख गर्दै उनले युवा, महिला र दलित प्रतिनिधित्व बढाइएको जानकारी दिए।