काठमाडौं, २४ फागुन । भदौ २३ र २४ गते भएको घटनासम्बन्धी जाँचबुझ आयोगले जेनजी आन्दोलनका क्रममा दमन गर्ने सबैलाई कारबाही गर्न सिफारिस गरेको जनाएको छ।
आइतबार प्रधानमन्त्रीलाई आयोगको अन्तिम प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका संयोजक गौरीबहादुर कार्कीले भदौ २३ गते आन्दोलनरत युवामाथि गोली चलाउन आदेश दिने तथा गोली नरोकी चलाउन जिम्मेवार सबैलाई कारबाही गर्न सिफारिस गरिएको बताए।
उनका अनुसार भदौ २४ गते भएको घटनामा पनि दोषी देखिएकालाई कारबाही गर्न सिफारिस गरिएको छ।
कार्कीले आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको अवस्थामा सरकारले त्यसलाई कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे। आफूहरूले देश, जनता र शहीदप्रति न्याय दिलाउने उद्देश्यले निष्पक्ष रूपमा काम गरेको र त्यसमा सन्तुष्ट रहेको उनको भनाइ थियो।
उनले केही काम बाँकी रहेको तथा निर्वाचनमा असर पर्न सक्ने देखिएकाले निर्वाचनपछि प्रतिवेदन बुझाइएको बताए।
संयोजक कार्कीले आयोगको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही नगरे अर्को आन्दोलन हुन सक्ने भन्दै सरकारलाई सचेत गराइएको पनि जानकारी दिए।