काठमाडौं, १ चैत्र । मन्त्रिपरिषद्ले गृहमन्त्री ओमप्रकाश अर्याल लाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
संविधान अनुसार राष्ट्रपतिले मनोनयन गर्ने एक सिटका लागि सरकारको सिफारिस आवश्यक पर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले अर्यालको नाम सिफारिस गरेको हो।
यसअघि उक्त सिटका लागि अर्थमन्त्री रामेश्वर खनाल को नाम पनि चर्चामा आएको थियो। तर अन्ततः सरकारले गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
अब राष्ट्रपतिले मनोनयन गरेपछि अर्याल राष्ट्रियसभाका सदस्य बन्नेछन्।