इनरुवा, १२ चैत्र। कोशी प्रदेशमा बर्डफ्लुको संक्रमण तीव्र बन्दै जाँदा पोल्ट्री व्यवसाय गम्भीर संकटमा परेको छ। पछिल्लो समय विभिन्न कारणले कमजोर बन्दै आएको यो क्षेत्रलाई बर्डफ्लुले थप चपेटामा पारेको हो।
प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका कम्तीमा १२ वटा पोल्ट्री फार्ममा संक्रमण पुष्टि भइसकेको छ। संक्रमण तीव्र गतिमा फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सरकारी निकायले उच्च सतर्कता अपनाउँदै निगरानी कडा बनाएका छन्।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ५३ हजार ९९० लेयर्स कुखुरा, ५५० ब्रोइलर कुखुरा र ६०६ स्थानीय जातका कुखुरा नष्ट गरिएको छ। साथै १ लाख ९ हजार ४२१ अण्डा र १७ हजार ३५० केजी दाना पनि नष्ट गरिएको छ।
मोरङको सुन्दरहरैंचा–४ स्थित हलेसी महादेव कृषि फार्मबाट चैत ३ गते सुरु भएको संक्रमण उर्लाबारी हुँदै झापाको दमक र सुनसरीको इटहरीसम्म फैलिएको छ। उर्लाबारी–८ स्थित अठियाबारी कृषि फार्ममा मात्रै १८ हजार कुखुरा नष्ट गरिएको छ भने दमकका विभिन्न फार्महरूमा पनि ठूलो क्षति पुगेको छ।
पशुपन्छी विकास महाशाखाकी वरिष्ठ पशु चिकित्सक डा. दिपा दिवालीका अनुसार संक्रमण नियन्त्रणका लागि ‘रेपिड रेस्पोन्स टिम’ परिचालन गरी प्रभावित क्षेत्रमा कुखुरा नष्ट गर्ने र संक्रमण रोक्ने काम भइरहेको छ। यद्यपि, अवैध ओसारपसारका कारण नियन्त्रण चुनौतीपूर्ण बनेको छ।
उनले किसानहरूलाई जैविक सुरक्षा कडाइका साथ अपनाउन, फार्ममा बाह्य व्यक्तिको प्रवेश रोक्न र शंकास्पद लक्षण देखिएमा तुरुन्त सूचना दिन आग्रह गरेकी छन्।
नेपालमा पहिलो पटक २०६५ सालमा झापाको काँकडभिट्टाबाट बर्डफ्लु देखिएको थियो। त्यसयता छिटफुट रूपमा देखिँदै आएको संक्रमण यो वर्ष भने पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो रूपमा फैलिएको बताइएको छ।