स्वास्थ्यमन्त्री निशा मेहताः “उपचार नपाएर कसैले ज्यान गुमाउन नपरोस्”

Logo
Popular News शनिबार, चैत्र १४, २०८२

इनरुवा, १४ चैत । स्वास्थ्यकर्मी पृष्ठभूमिकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेकी छन्।  मन्त्री मेहताले उपचार नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

मन्त्रालयमा आयोजित संक्षिप्त परिचयात्मक कार्यक्रममा उनले आफू नर्सिङ पृष्ठभूमिबाट आएको उल्लेख गर्दै स्वास्थ्य सेवामा जनताको पहुँच विस्तार गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको बताइन्।
“मेरो उद्देश्य आम नागरिकले सहज रूपमा उपचार सेवा पाऊन् भन्ने हो,” उनले भनिन्, “उपचार नपाएर कसैले ज्यान गुमाउन नपरोस् भनेर काम गर्नेछु।”

स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभवका आधारमा उनले आफ्ना प्राथमिकता स्पष्ट पार्दै स्वास्थ्यकर्मीको विदेश पलायनलाई ठूलो चुनौतीका रूपमा औँल्याइन्। चिकित्सक, नर्स तथा पारामेडिक्सलाई देशमै काम गर्न उत्प्रेरित गर्ने वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ छ।
“अहिले धेरै डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी विदेश गइरहेका छन्। उनीहरूका लागि पर्याप्त मोटिभेसनल फ्याक्टर छैन,” उनले भनिन्।

उनका अनुसार धेरै नर्सहरूले उच्च शिक्षा र विशेषज्ञता हासिल गरे पनि सोहीअनुसारको अवसर पाउन सकेका छैनन्। चिकित्सकहरूमा पनि कामको सन्तुष्टि र पारिश्रमिकसम्बन्धी समस्या देखिएको उनले उल्लेख गरिन्।
“स्वास्थ्यकर्मी सन्तुष्ट भए मात्र सेवाग्राहीले गुणस्तरीय सेवा पाउँछन्,” उनले भनिन्।

स्वास्थ्य क्षेत्र संवेदनशील र व्यापक भएको भन्दै उनले तत्कालै हतारमा निर्णय नगर्ने बताइन्।
“पहिले मन्त्रालयका काम, समस्या र प्राथमिकताहरू राम्रोसँग बुझेर मात्रै निर्णय लिन्छु,” उनले स्पष्ट पारिन्।

नसर्ने रोगहरू बढ्दो चुनौती बन्दै गएको उल्लेख गर्दै मन्त्री मेहताले उपचारभन्दा रोकथाममा बढी ध्यान दिनुपर्नेमा जोड दिइन्।
“रोग लागेपछि उपचारभन्दा रोग लाग्नै नदिने उपायमा केन्द्रित हुनुपर्छ,” उनले भनिन्।

त्यसैगरी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा हुने खरिद प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा पनि उनले प्राथमिकता दिने बताइन्। नयाँ उपकरण खरिदमा जोड दिइए पनि मर्मत–सम्भारका लागि पर्याप्त बजेट नछुटाउँदा समस्या भइरहेको उनको भनाइ छ।

सुनसरीको इनरुवाकी मेहता नर्सिङ क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी छन्। भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि उनले नेपाल फर्किएर विराटनगरस्थित एक शिक्षण अस्पतालमा कार्य अनुभव हासिल गरेकी थिइन्।

रास्वपाको स्थापनाकालदेखि नै पार्टीसँग आबद्ध उनी यसपटक समानुपातिक सूचीबाट सांसद बनेकी हुन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800