इनरुवा, १५ चैत । सुनसरीको दुहबी नगरपालिकामा आधुनिक फोहोर प्रशोधन केन्द्र (वेस्ट म्यानेजमेन्ट सेन्टर) निर्माण कार्य सुरु भएको छ। करिब १८ करोड ३५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त केन्द्रले नगरको फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्य लिएको छ।
आइतबार दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदार र भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले संयुक्त रूपमा केन्द्रको शिलान्यास गरेका हुन्। ‘कन्स्ट्रक्सन अफ वेस्ट म्यानेजमेन्ट सेन्टर विथ मटेरियल रिकभरी फ्यासिलिटी एण्ड इक्विपमेन्ट सप्लाई’ नाम दिइएको यो परियोजना भारतीय दूतावास र दुहबी नगरपालिकाको सहकार्यमा सञ्चालन हुँदैछ।
दुहबी–४ मा निर्माण सुरु भएको उक्त केन्द्रमार्फत नगर क्षेत्रमा बढ्दो फोहोरलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ। परियोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने योजना रहेको छ।
सिद्धार्थ दर्शन–चुरिया जेभीले ठेक्का पाएको उक्त योजनाको कुल लागत करिब १८ करोड ३५ लाख ६८ हजार रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार केन्द्र निर्माणपछि फोहोरको वर्गीकरण, पुनःप्रयोग (रिसाइक्लिङ) तथा सुरक्षित व्यवस्थापनमा सहजता आउनेछ।