इनरुवा, २९ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
मन्त्रालयका अनुसार गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ भने १८ प्रतिशत चिस्यान भएको चैते धानको मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ कायम गरिएको छ।
निर्धारित मापदण्ड अनुसार १८ प्रतिशतभन्दा बढी चिस्यान भएको धानको हकमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाई मूल्य समायोजन गरिनेछ।
गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विन्टल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको मूल्य ५५ रुपैयाँ ८ पैसा वृद्धि गरिएको मन्त्रालयले जनाएको छ।
अघिल्लो आर्थिक वर्षमा गहुँको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७८ रुपैयाँ ८७ पैसा र चैते धानको मूल्य ३ हजार ८ सय ८९ रुपैयाँ ९२ पैसा रहेको थियो।
सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न तथा कृषि उत्पादन वृद्धि प्रोत्साहन गर्न हरेक वर्ष न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ।