विराटनगर, ३० चैत । विराटनगरमा जारी पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर हवले जितेको छ। नेपाल क्रिकेट फाउण्डेसन द्वारा आयोजित प्रतियोगितामा विराटनगर हवले राजविराज हवलाई ११ रनले पराजित गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा १८.५ ओभर खेल्दै सबै विकेट गुमाएर ९७ रन बनाएको थियो। विराटनगरकी टिका साहले ३० रन बनाउँदा सुभेक्षा लिम्बुले १७ रनको योगदान गरिन्। राजविराजकी दिपा राम र बन्धना रजकले समान २–२ विकेट लिए।
९८ रनको लक्ष्य पछ्याएको राजविराजले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो। राजविराजकी कप्तान साक्षी यादव ले अविजित ४८ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरिन् भने साक्षी देवले १३ रन थपिन्। विराटनगरकी प्लेयर अफ द फाइनल समिक्षा राईले ३ विकेट लिँदा सुभेक्षा लिम्बु, सानु राजवंशी र सम्रिका गौतमले समान १–१ विकेट लिए।
प्रतियोगिताको प्लेयर अफ द सिरिज साक्षी यादव घोषित भइन्। साथै, उत्कृष्ट ब्याटर पनि उनी नै बनिन् भने उत्कृष्ट बलरको उपाधि विराटनगरकी सुभेक्षा लिम्बुले जितिन्।
चैत २७ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका विराटनगर, पथरी, इटहरी, धनकुटा र उदयपुरका टोलीहरू, आयोजक एनसीएफ–११ तथा मधेश प्रदेशका राजविराज र सिरहाका टोलीहरूको सहभागिता रहेको थियो।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई कोशी क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, नेपाल क्रिकेट संघकी पूर्व केन्द्रीय सदस्य जिना श्रेष्ठ तथा नेपाल क्रिकेट फाउण्डेसन का अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए।