इनरुवा, २ वैशाख। सुनसरीको बराहक्षेत्र नगरपालिका–०६ स्थित सप्तकोशी नदीमा बाँसको झाकमुनी लुकाएर बगाउँदै ल्याइएको ठूलो परिमाणमा लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले नदीमार्ग हुँदै चोरीछिपी ओसारपसार गरिँदै गरेको करिब २२५ केजी गाँजा बरामद गरेको हो। सो क्रममा गाँजासहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेहरूमा बराहक्षेत्रका बिशेष माझी र रोशन श्रेष्ठ रहेका छन्। उनीहरूले बाँसको संरचनाभित्र गाँजा लुकाएर नदीको बहावसँगै बगाउँदै लैजाने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। लागूऔषध नियन्त्रण तथा अवैध ओसारपसार विरुद्ध प्रहरीले निगरानी अझ कडा बनाएको पनि जनाएको छ।