कृषि समिति सभापतिमा अशोक कुमार चौधरी निर्विरोध

Logo
Popular News बिहिबार, बैशाख ०३, २०८३

इनरुवा, ३ वैशाख। सुनसरी–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

समितिको सभापतिका लागि बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। उक्त अवधिमा प्रत्येक समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै सभापति निर्विरोध निर्वाचित भएका हुन्।

निर्विरोध निर्वाचित हुनेमध्ये सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ९ जना र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक जना सांसद रहेका छन्।

अन्य समितिहरूमा पनि सभापतिहरू निर्विरोध भएका छन्। कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी तथा राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल निर्विरोध चयन भएका छन्।

त्यसैगरी, संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ निर्विरोध भएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी तथा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी पनि निर्विरोध निर्वाचित भएका छन्।

रास्वपाले सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने जनाएको छ।

यद्यपि, प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा संयुक्त समिति ‘राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति’मा भने सभापतिका लागि प्रतिस्पर्धा हुने भएको छ।

शिक्षा समितिमा रास्वपाका ओजस्वी शेरचन र एमालेका गुरु बरालबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, संयुक्त समितिमा नेकपाकी मदनकुमारी शाह र रास्वपाका गणेश कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतिनिधि सभाको चैत २७ गतेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सबै समितिमा रहने सदस्यहरूको नाम बाचन गर्दै सभापतिको निर्वाचन बैशाख ४ गते (भोलि)का लागि तोकेका थिए ।

हाल संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन्। तीमध्ये प्रतिनिधिसभाअन्तर्गत १०, राष्ट्रिय सभाअन्तर्गत ४ र दुई वटा संयुक्त समिति रहेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800