इनरुवा, ४ वैशाख । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जुताल क्षेत्रमा गैंडाको खाग जस्तो देखिने वस्तुसहित चार जना पक्राउ परेका छन्। घटनाबारे डिभिजन वन कार्यालय सुनसरीले अनुसन्धान सुरु गरेको छ।
बिहीबार साँझ करिब ५:३० बजे बर्जुतालको पूर्वी गेटबाट करिब १५० मिटर भित्र अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीबाट खटिएको १६ जनाको टोलीले छापा मारेको थियो।
प्रहरीका अनुसार मोटरसाइकलमा लुकाई–छिपाई राखी मोलमोलाई गर्दै गरेको अवस्थामा गैंडाको खाग जस्तो देखिने एक थान वस्तु, दुई वटा मोटरसाइकलसहित चार जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका व्यक्तिहरू तथा बरामद सामग्री आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय सुनसरीमा बुझाइएको छ। डिभिजन वन अधिकृत रितेश भुषण बस्नेतका अनुसार चारै जनालाई ७ दिन हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।