संघीय संसद्का १२ विषयगत समिति सभापतिले लिए पद तथा गोपनीयताको शपथ

Logo
Popular News शुक्रबार, बैशाख ०४, २०८३

इनरुवा, ४ बैशाख । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति र दुई संयुक्त समितिका शुक्रबार निर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा उपसभामुख रुबी कुमारी ठाकुर तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमको पनि उपस्थिति रहेको थियो । प्रतिनिधिसभाका ९ र संयुक्त समितिका १ सभापति निर्विरोध चयन भएका थिए भने प्रतिनिधिसभा र संयुक्त गरी दुई समितिमा निर्वाचनमार्फत सभापति चयन गरिएको हो ।

प्रतिनिधिसभा अन्तर्गतका समितिहरूमध्ये कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी तथा उद्योग समितिमा रहवर अन्सारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी, प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ निर्विरोध चयन भएका छन् । निर्विरोध निर्वाचितमध्ये सार्वजनिक लेखा समितिका सभापति खड्काबाहेक सबै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् भने खड्का नेपाली कांग्रेसका सांसद हुन् ।

निर्वाचनबाट चयन भएका समितिहरूमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन्, जसमा उनले एमालेका गुरु बराललाई पराजित गरेकी हुन् । त्यस्तै, संयुक्त राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा गणेश कार्की निर्वाचित भएका छन्, जसमा उनले नेकपाकी मदन कुमारी शाह (गरिमा) लाई पराजित गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800