इनरुवा, ५ वैशाख । सुनसरीको धरान–१३ आँपगाछीस्थित कोशी लोकमार्गमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ।
शनिबार बिहान करिब ११स्१० बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो।
प्रहरीका अनुसार गाडीको सिटमुनि ‘फल्स बटम’ बनाएर लुकाइछिपाइ ल्याइएको अवस्थामा करिब ५९ किलो गाँजा बरामद गरिएको छ।
घटनामा संलग्न तीन जनालाई गाडी र बरामद गाँजासहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा सुपौल जिल्ला, भारतका २२ वर्षीय सुबोध कुमार, २२ वर्षीय रोहित कुमार र ४० वर्षीय मोहम्मद जमशेर रहेका छन्।