काँकडभिट्टा–इनरुवा रेलमार्ग प्रभावित जग्गा फुकुवाको माग

Logo
Popular News शुक्रबार, जेठ ०८, २०८३

इनरुवा, ८ जेठ । मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्ड निर्माणका लागि रोक्का राखिएको जग्गा तत्काल कानुनी रूपमा फुकुवा गर्न माग गरिएको छ ।

रेलवे जग्गा पीडित संघर्ष समिति सुनसरीका संयोजक कृष्णदेव मेहताद्वारा हस्ताक्षरित ज्ञापनपत्रमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी रोक्का जग्गा फुकुवा गर्न माग गरिएको हो ।

वि.सं. २०७७ जेठ २४ गते गोरखापत्रमा सूचना प्रकाशित गरी रेलमार्गका लागि झापा, मोरङ र सुनसरीका करिब ५ हजार ४२४ कित्ता जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइए पनि हालसम्म मुआब्जा निर्धारण तथा वितरण हुन नसकेको समितिको भनाइ छ ।

समितिले लामो समयदेखि जग्गा रोक्का हुँदा इटहरी, इनरुवा, भोक्राहा नरसिंहलगायत क्षेत्रका हजारौं परिवारले जग्गा बेचबिखन, बैंक धितो, ऋण तथा अंशबण्डा गर्न नपाएर आर्थिक तथा सामाजिक समस्या भोग्नुपरेको जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत जग्गा फुकुवा गर्ने घोषणा भए पनि हालसम्म मन्त्रिपरिषद्बाट आवश्यक निर्णय तथा राजपत्रमा सूचना प्रकाशित नभएकाले मालपोत कार्यालयले फुकुवा प्रक्रिया अघि नबढाएको गुनासो गरिएको छ ।

समितिले आयोजना अघि बढाउने भए तत्काल मुआब्जा वितरण प्रक्रिया सुरु गर्न, अन्यथा दफा ४० बमोजिम जग्गा प्राप्त नगर्ने औपचारिक सूचना प्रकाशित गरी प्रभावित जग्गा फुकुवा गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800