इनरुवा, १४ जेठ । आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट शुक्रबार सार्वजनिक हुने भएको छ । नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रावधान अनुसार यस वर्ष पनि बजेट ल्याउन लागिएको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पहिलो पूर्ण बजेट ल्याउन लागेको हो ।सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अपराह्न ४ः०० बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ।
निर्वाचनका क्रममा सो पार्टीले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने बताइएको छ ।
सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिनुभएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई बजेटको केन्द्रमा राखिएको छ ।
यसपटकको बजेटलाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि रु १८ खर्ब ९० अर्ब बराबरको बजेट सिलिङ तय गरेको थियो । सरोकारवाला निकायको सुझावलाई बजेटमा यथेष्ट स्थान दिइएको बताइएको छ । चालु आवको बजेट रु १९ खर्ब ६४ अर्ब बराबरको थियो ।