इनरुवा, १७ जेठ । इनरुवामा चौथो रात्रीकालीन मेयर कप खुला पुरुष नकआउट भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
फुलवारी क्रिकेट क्लबको आयोजना तथा इनरुवा नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिताको उद्घाटन गर्दै इनरुवा नगर प्रमुख केदार भण्डारीले अध्ययनसँगै खेलकुद क्षेत्रलाई पनि समान रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।
उनले खेलकुद क्षेत्र अहिले व्यवसायिक बन्दै गइरहेको उल्लेख गर्दै युवाहरूका लागि खेल पनि महत्वपूर्ण पेशा र अवसरको क्षेत्र बन्न सक्ने बताए। खेलकुदले अनुशासन, नेतृत्व क्षमता र स्वस्थ जीवनशैली विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा क्लबका अध्यक्ष शिवकुमार यादवले खेलकुदको विकास र प्रतिभावान खेलाडी उत्पादनका लागि क्लब निरन्तर सक्रिय रहेको बताए। उनले विभिन्न खेल प्रतियोगिता आयोजना गर्दै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने प्रयास भइरहेको जानकारी दिए।
प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।

