इनरुवा, १७ जेठ । सुनसरीको भुटाहा–इनरुवा भित्री सडक खण्डबाट सशस्त्र प्रहरी बलले ७ बोरा सुर्तीसहित दुई वटा नेपाली नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको निगरानीका क्रममा बेवारिसे अवस्थामा उक्त सुर्ती र मोटरसाइकल फेला पारिएको हो।
बरामद गरिएको सुर्ती तथा मोटरसाइकलको अनुमानित मूल्य ३ लाख ४२ हजार रुपैयाँ रहेको जनाइएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।