इनरुवा, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरी जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सागर दाहाल जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ।
सभापति पदका लागि भएको निर्वाचनमा दाहालले १४२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उनका निकटतम प्रतिस्पर्धी कृष्ण रौनियारले ७४ मत प्राप्त गर्नुभयो भने मोहन निरौलाले ६२ र चक्र विष्टले १० मत प्राप्त गर्नुभएको थियो।
उपसभापतिमा राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित हुनुभएको छ। उक्त पदका अर्का उम्मेदवार देवीका भण्डारीले ७४ मत प्राप्त गर्नुभएको थियो।
सचिव पदमा राजाराम कुमार मेहता तथा सहसचिव पदमा योगेन्द्र गिरी सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।
त्यसैगरी सदस्य पदमा लक्ष्मी सुवेदी (२०९), राजकुमारी मेहता (१६९), धरमवीर आर्य (११२), रेणुका हरिजन (१०९) र गोकुल थापा (१०७) मत प्राप्त गर्दै निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।
अधिवेशनका प्रतिनिधि छनोटसम्बन्धी विषयमा केही विवाद उत्पन्न भएका कारण निर्वाचन प्रक्रिया निर्धारित समयभन्दा केही ढिलो गरी सम्पन्न भएको थियो।