इनरुवा, २४ जेठ । नेपाल–भारत सीमा क्षेत्रमा खटिएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ४५औँ वाहिनी वीरपुरले नेपाली नम्बर प्लेटको पिकअप गाडीसहित करिब १,७३३.६ किलोग्राम (१७ क्विन्टलभन्दा बढी) गाँजा बरामद गरेको जनाएको छ।
एसएसबीका अनुसार सीमा चौकी सातअना अन्तर्गत कोशी गाउँपालिका–६, धत्ता टोल क्षेत्रबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।
४५औँ वाहिनीका कार्यवाहक कमान्डेन्ट जगदीश कुमार शर्मा का अनुसार नेपालबाट भारततर्फ ठूलो परिमाणमा गाँजा तस्करी हुन लागेको गोप्य सूचनापछि सीमा क्षेत्रमा विशेष निगरानी तथा जाँच अभियान सञ्चालन गरिएको थियो।
गत ६ जुन २०२६ (जेठ २३) को राति धत्ता टोल क्षेत्रमा गुडिरहेको ज.१.प.२७२१ नम्बरको नेपाली पिकअप गाडी रोक्ने प्रयास गर्दा चालकले गाडी तीव्र गतिमा चलाउँदै भाग्न खोजेको तथा सुरक्षाकर्मीलाई किच्ने प्रयास गरेको एसएसबीले दाबी गरेको छ। त्यसपछि सुरक्षाकर्मीले गाडी नियन्त्रणमा लिएका थिए।
घटनाका बेला परेको भारी वर्षा र अन्धकारको फाइदा उठाउँदै चालकसहित अन्य संलग्न व्यक्तिहरू भने फरार हुन सफल भएको जनाइएको छ। नियन्त्रणमा लिइएको गाडीको तलासीका क्रममा ४७ वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको १,७३३.६ किलोग्राम गाँजा बरामद भएको एसएसबीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान तथा फरार व्यक्तिहरूको खोजी कार्य भारतीय प्रहरीले अघि बढाएको छ। साथै, विस्तृत सूचना आदानप्रदानका लागि सशस्त्र प्रहरी बल नेपाल सँग पनि समन्वय भइरहेको बताइएको छ।