इनरुवा, ९ असार। सुनसरीको बर्जु गाउँपालिका–६ नरह चोक नजिक हुलाकी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको मृत्यु भएको छ।
प्रहरीका अनुसार विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय यादवलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।
मृतक यादव सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी हुन्। उनी जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत वरिष्ठ सई थिए। दुर्घटनामा उनकी पत्नी ४७ वर्षीया रामपरी यादव पनि घाइते भएकी छन्। उनको दाहिने खुट्टामा चोट लागेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। हाल उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ।
सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेवेका अनुसार दुर्घटनामा संलग्न कार चालक मोरङको कटहरी गाउँपालिका–३ निवासी ५० वर्षीय रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार डा. चौधरी चिमडी बजारतर्फ एक्स–रे सेवा दिन जाँदै गर्दा दुर्घटना भएको खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।