इनरुवा, १२ असार । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ बाट प्रहरीले २०८ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा वराहक्षेत्र–३ निवासी ३८ वर्षीय विष्णु धामी र सोही स्थानका ३३ वर्षीय रुद्रबहादुर सुबेदी रहेका छन्। विष्णु धामीले लागूऔषध बिक्री–वितरण गरिरहेको भन्ने सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा उनले शरीरमा लुकाइछिपाइ राखेको प्लास्टिकका दुई वटा पोकाभित्रबाट २०८ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
सोही क्रममा धामीको साथबाट नगद रु. १ लाख ८२ हजार ५०० समेत बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा रुद्रबहादुर सुबेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।