कोशी प्रदेशका मुख्यमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकः मृतक परिवारलाई २ लाख राहत सहयोग

Logo
Popular News बुधबार, साउन १३, २०८३

इनरुवा, १३ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको गोलीकाण्डपछि सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्ने उद्देश्यले कोशी प्रदेशका मुख्यमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। साथै आगजनीबाट जलेका घर, पसल, कबाड तथा घाइतेहरूको उपचार र राहतका लागि प्रतिपीडित ५० हजार रुपैयाँसम्म उपलब्ध गराइने बैठकले जनाएको छ।

बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

सामाजिक सद्भाव कायम गर्न पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्ने, स्थानीय प्रशासनसँग समन्वय गरी समुदायस्तरमा मेलमिलाप तथा सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने तथा सबै धार्मिक समुदाय र संघ–संस्थाले संयुक्त रूपमा शान्ति र सद्भावका लागि अपिल जारी गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी, सीमावर्ती क्षेत्रबाट कुनै पनि प्रकारका घुसपैठ वा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा सतर्कता बढाउने, घाइतेहरूको उपचारको उचित व्यवस्था गर्न तथा मृतकका परिवारलाई थप राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णयसमेत गरिएको छ।

यस्तै, यस्ता घटना अन्य जिल्लामा फैलिन नदिन प्रदेशस्तरीय निकाय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800