इनरुवा, १९ कार्तिक । सुनसरी प्रहरीले भन्सार छली गरी ल्याइएको करिब १ लाख ५९ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित एक मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार बिहान करिब ८ बजे इनरुवा नगरपालिका–२ स्थित हेरा नेशनल स्कुल नजिक चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरिएको हो।
बबियाबाट इनरुवातर्फ आउँदै गरेको को १५ प ३११० नम्बरको मोटरसाइकलका चालकले प्रहरी टोलीलाई देखेपछि मोटरसाइकल र त्यसमा रहेको लत्ताकपडा छाडेर फरार भएका थिए।
प्रहरीका अनुसार बरामद लत्ताकपडाको अन्दाजी मूल्य १ लाख ५९ हजार रुपैयाँ रहेको छ। मोटरसाइकल र लत्ताकपडालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ।
फरार मोटरसाइकल चालकको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ।