इनरुवा, १७ भदौ । सुनसरीमा प्रहरीले लागूऔषधविरुद्धको कारबाही तीव्र बनाउने क्रममा ठूलो परिमाणमा गाँजा तथा ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको छ। जिल्लाको बर्जु गाउँपालिकाबाट एम्बुलेन्सको स्वरूपमा प्रयोग गरिएको टाटा सुमोबाट ६ सय ९ किलो गाँजा बरामद भएको छ भने इटहरीबाट १९ दशमलव ३२ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।
एम्बुलेन्सबाट ६ सय ९ किलो गाँजा बरामद
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका अनुसार बीओपी हर्बोनीको चेकपोइन्ट टोलीले बर्जु गाउँपालिका–४ मा चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार ‘एम्बुलेन्स’ लेखिएको टाटा सुमो शंकास्पद रूपमा फेला परेपछि चेकजाँच गर्दा गाडीभित्र लुकाएर राखिएको गाँजा बरामद भएको हो। गाडीबाट १७ पोका गाँजा फेला परेको र त्यसको कुल तौल ६ सय ९ किलो रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त टाटा सुमोको अगाडि र पछाडिको नम्बर प्लेट फरक–फरक रहेको समेत पाइएको प्रहरीले जनाएको छ। यसले गाडीको पहिचान तथा प्रयोगका विषयमा थप अनुसन्धान आवश्यक देखिएको प्रहरीको भनाइ छ।
इटहरीमा ब्राउन सुगरजस्तो पदार्थसहित दुई जना पक्राउ
यसैबीच, सुनसरीको इटहरी उपमहानगरपालिका–४ संगीत चोकबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार दिउँसो करिब २ः४० बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले संगीत चोकस्थित भित्री बाटोमा हिँडिरहेका दुई जनालाई शंकाका आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा धादिङको ज्वालामुखी गाउँपालिका–३ का २७ वर्षीय सुवास अर्याल र सिन्धुपाल्चोकको सुन्दरी गाउँपालिका–३ का ३७ वर्षीय विक्रम कार्कीको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट बरामद पदार्थको तौल १९ दशमलव ३२ ग्राम रहेको छ। बरामद पदार्थको वास्तविक प्रकृति तथा लागूऔषध भएको पुष्टि गर्न आवश्यक परीक्षण तथा अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
दुवै जनालाई बरामद पदार्थसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।