काठमाडौं, ३० भदौ । सरकारले खाना पकाउने एलपी ग्यासको अभाव हटाउन भारतबाट हुने आयात बढाउने भएको छ। उद्योगमन्त्री ई. दीपककुमार साहका अनुसार अब भारतबाट दैनिक १६० बुलेट ग्यास आयात गर्ने व्यवस्था मिलाइँदैछ।
यसअघि नेपालमा दैनिक करिब १०० बुलेट ग्यास आयात हुने भनिए पनि भारतबाट औसत ९० देखि ९५ बुलेट मात्रै नेपाल भित्रिँदै आएको थियो। त्यसमाथि कृष्णभिरमा गएको पहिरोका कारण राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा ग्यासको आपूर्ति थप प्रभावित भएको थियो।
अभाव व्यवस्थापनका लागि हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ।
नवनियुक्त उद्योगमन्त्री साहले मंगलबार नेपाल आयल निगम पुगेर ग्यासको माग, आयात तथा आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए। त्यसक्रममा उनले आपूर्ति सहज बनाउन तत्काल पहल गर्न निगमलाई निर्देशन दिएका थिए।
मन्त्रीको निर्देशनपछि निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई थप ग्यास उपलब्ध गराउन पत्राचार गरेको जनाइएको छ। आईओसी नेपालको मागअनुसार दैनिक थप ६० बुलेट ग्यास उपलब्ध गराउन तयार भएको मन्त्री साहले जानकारी दिएका छन्।
मन्त्री साहले थप आयात सुरु भएपछि अबको एक साताभित्र ग्यासको अभाव र आपूर्ति समस्या समाधान हुने दाबी गरेका छन्।