इटहरीमा एउटै परिवारका श्रीमान्–श्रीमतीको केहीबेरको अन्तरमा मृत्यु, माछा खाएपछि बिरामी परेको परिवारको भनाइ

Logo
Popular News आइतबार, कार्तिक २३, २०८३

इनरुवा, २२ कार्तिक । । तिहारको उल्लास र लक्ष्मीपूजाको तयारी भइरहेका बेला सुनसरीको इटहरीमा एकै परिवारका श्रीमान्–श्रीमतीको केहीबेरको अन्तरमा मृत्यु भएपछि सुमङ्गल टोल शोकमा डुबेको छ।

इटहरी उपमहानगरपालिका–७ सुमङ्गल टोलका ५७ वर्षीय रामु चौधरी र उनकी ५१ वर्षीया श्रीमती कञ्चन चौधरीको शनिबार साँझ केहीबेरको अन्तरमा मृत्यु भएको हो। उनीहरूको मृत्युको कारण भने अहिलेसम्म आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन।

परिवारकी छोरी सुमिना चौधरीका अनुसार बिहीबार साँझ घरमा माछा खाएपछि परिवारका सदस्य बिरामी पर्न थालेका थिए। स्थानीय बिहीबारे बजारबाट कञ्चनले ल्याएको जलकपुर माछा बिहीबार साँझ खाइएको र बाँकी रहेको माछा शुक्रबार बिहान पनि खाइएको उनले बताइन्।

माछा खाएपछि शुक्रबारदेखि सुमिनालाई ज्वरो आएको थियो। पछि पखाला लागेपछि उनलाई इटहरीकै आदर्श मेडिकलमा उपचार गराइएको थियो। उनका बुबा रामुलाई ज्वरो र बान्ता तथा आमा कञ्चनलाई शनिबार बिहानदेखि बान्ता र पखाला सुरु भएको थियो।

शनिबार घरका तीनै जना बिरामी परेपछि बाहिर निस्कन नसकेको सुमिनाले बताएकी छन्।

मिस्त्री काम गर्ने रामुले शनिबार बिहानै शरीर दुखेको भन्दै ठेकेदारलाई काममा आउन नसक्ने जानकारी गराएका थिए। घरमै रहेका उनी अस्वस्थताका बाबजुद सरसफाइमा लागेका थिए। सोही क्रममा बान्ता भएपछि ओछ्यानमा आराम गर्न गएका रामुको आफ्नै ओछ्यानमा मृत्यु भएको थियो।

बुबाको अवस्था बुझ्न पुगेकी कञ्चन पनि केहीबेरमै त्यहीँ ढलेको छोरी सुमिनाले बताइन्। आमाबुबा दुवैलाई एकै ठाउँमा ढलेको देखेपछि उनले दाजु सुनिललाई फोन गरेर बोलाएकी थिइन्।

सुनिलले आफन्त तथा छिमेकीलाई खबर गरेपछि उनीहरू चौधरीको घर पुगेका थिए। त्यतिबेला कञ्चन बेहोस अवस्थामा थिइन्। आफन्त र छिमेकीले उनलाई एम्बुलेन्समार्फत विराट शिक्षण अस्पताल पुर्‍याएका थिए।

अस्पतालमा परीक्षणपछि चिकित्सकले कञ्चनलाई मृत घोषणा गरेको उनीसँगै अस्पताल पुगेका छिमेकी वसन्त कार्कीले जानकारी दिए। अस्पतालबाट मृत्यु प्रमाणपत्र लिएपछि उनको शव एम्बुलेन्समै घर फर्काइएको थियो।

यता, रामुका दाजु महादेव चौधरी पनि घटनाबारे जानकारी पाएपछि भाइको घर पुगेका थिए। आफू पुग्दा भाइ र बुहारी दुवैको मृत्यु भइसकेको उनले बताए।

तीन दाजुभाइमध्ये रामु कान्छा थिए। एकै परिवारका दुई सदस्यको अप्रत्याशित मृत्युले परिवारका सदस्य, आफन्त तथा छिमेकी स्तब्ध भएका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800