इनरुवा, ३१ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बुधबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा ठूलो मानवीय क्षति भएको जनाएको हो।
प्रहरीका अनुसार रसुवामा १९३, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। यी जिल्लामा मात्रै १ हजार ४०१ जनाको शव फेला परेको हो। काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार २३५ वटा शवको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २८६ तथा आफन्तका १ हजार ९०४ गरी कुल ३ हजार १९० वटा डिएनए नमुना सङ्कलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ३६१ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
प्रहरीका अनुसार अझै ४ हजार ८९ जना बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य विभिन्न प्रभावित क्षेत्रमा जारी रहेको छ।
यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल २ हजार १८३ जना व्यक्तिलाई राखिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, शव पहिचान तथा व्यवस्थापन र उद्धार तथा राहतका कार्यलाई निरन्तरता दिइएको छ।