भोक्राहामा मोटरसाइकल र सिटी सफारी ठोक्किँदा जितेन कुमार मोचीको मृत्यु, पाँच घाइते

Logo
Popular News बुधबार, भाद्र ३१, २०८३

इनरुवा, ३१ भदौ । सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–४ स्थित जनता चोकमा मोटरसाइकल र सिटी सफारी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

मंगलबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत जनता चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०६० प १७६७ नम्बरको १२५ सीसी बजाज मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारी आपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकलमा सवार कोशी गाउँपालिका–३ का २३ वर्षीय जितेन कुमार मोची गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा मंगलबार दिउँसो २ः१९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

मोटरसाइकल चालक कोशी गाउँपालिका–३ का २८ वर्षीय प्रदीप नारायण यादव घाइते भएका छन्। उनको हात र खुट्टामा चोट लागेको छ। यादवको भोक्राहास्थित सप्तकोशी अस्पताल न्युरोमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यस्तै, सिटी सफारीमा सवार भोक्राहा–नरसिंह गाउँपालिका–४ का १८ वर्षीय तवरेज मन्सुरीको टाउको, नाक, बायाँ हात र खुट्टामा चोट लागेको छ। उनको नोबेल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।

सिटी सफारीमै सवार ३० वर्षीया समसा खातुनको मुख र गालामा चोट लाग्नुका साथै माथिल्लो पट्टिका तीन वटा दाँत भाँचिएका छन्। उनको पनि नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, भोक्राहा–नरसिंह गाउँपालिका–८ की ३५ वर्षीया राजो खातुनको चिउँडो तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको नोबेल अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।

अर्की घाइते ३५ वर्षीया फेकनी खातुनको नाक र दाहिने खुट्टामा चोट लागेको छ। उनको सप्तकोशी अस्पताल न्युरो, भोक्राहामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800