काठमाडौँ, ३१ भदौ । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा प्रसूति सेवाका लागि पुगेकी महिलाले अस्पताल परिसरबाहिरै शिशु जन्माउनुपरेको घटनाबारे गठित अनुगमन समितिले आफ्नो प्रतिवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बुझाएको छ।
घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा अनुगमन टोली गठन गरिएको थियो। टोलीमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका विज्ञ डा. पवनजंग रायमाझीसहित नेपाल मेडिकल काउन्सिलका विज्ञ तथा सदस्यहरू डा. विजय कापरी, डा. अजयकुमार शाह, डा. सारिका गोइत र डा. रविन बस्नेत सहभागी थिए।
टोलीले २०८३ भदौ २५ देखि २७ गतेसम्म अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गरी घटनासँग सम्बन्धित तथ्य तथा प्रमाण सङ्कलन गरेको थियो।
प्रतिवेदन प्राप्त भएपछि त्यसमा उल्लेख भएका प्रशासनिक रूपमा तत्काल गर्नुपर्ने काम अघि बढाउने मन्त्रालयले जनाएको छ। चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीलगायतबाट आचारसंहिता उल्लङ्घन भएको देखिएका विषयमा आवश्यक कारबाहीका लागि सम्बन्धित काउन्सिलमा पठाइएको मन्त्रालयले जनाएको छ।
अस्पतालको कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन ८० जना अस्थायी दरबन्दी थप गर्ने प्रस्तावमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। उक्त प्रस्ताव अब मन्त्रिपरिषद्मा पेस गरिने भएको छ।
त्यसैगरी, छात्रवृत्तिमा अध्ययन गरी आएका ७ जना चिकित्सकलाई दुई वर्षका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पठाइएको मन्त्रालयले जनाएको छ। चिकित्सक तथा कर्मचारीको नियुक्ति र व्यवस्थापनलाई व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक परिपत्रसमेत गरिसकेको जनाएको छ।