सुनसरी–४ मा मतदान विवादका कारण अनिश्चित

Logo
Popular News बुधबार, आश्विन १४, २०८३

इनरुवा, १४ असोज । नेपाली कांग्रेसको महाधिवेशनका लागि प्रतिनिधि छनोटअन्तर्गत सुनसरी क्षेत्र नम्बर ४ मा भइरहेको मतदान विवादका कारण अनिश्चित बनेको छ ।

मतदानका क्रममा उम्मेदवार तथा केही मतदाता घाइते भएको र मतपत्रसमेत छरपस्ट भएको जानकारी निर्वाचन समितिमा पुगेपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले तत्काल निर्वाचन प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।

विवादपछि मतदान स्थलमा रहेको मतपेटिका जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर सुरक्षित राखिएको छ। निर्वाचन अधिकृत भरतबहादुर थापाका अनुसार विवादका बीच मतदान प्रक्रिया केही समय अघि बढे पनि केन्द्रीय निर्वाचन समितिको निर्देशनपछि मतदान भइसकेको मतपेटिका सुरक्षित राखिएको हो।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार जिल्ला निर्वाचन अधिकृत थापालाई पत्र पठाउँदै अर्को निर्णय नभएसम्म निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम अघि नबढाउन निर्देशन दिएका थिए।

सुनसरी–४ मा क्षेत्रीय सभापतिका लागि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी र स्थानीय नेता मनोज साहबीच प्रतिस्पर्धा भइरहेको थियो।

मतदानका क्रममा गफार अन्सारी र क्षेत्रीय सभापति अयुब अन्सारी पक्षबीच हात हालाहाल तथा नाराबाजीसमेत भएको बताइएको छ। अयुब अन्सारी पक्षले गफार अन्सारी समूहले मतदानमा ‘बुथ कब्जा’ गरी धाँधली गरेको आरोप लगाएपछि विवाद चर्किएको दाबी गरिएको छ।

क्षेत्रीय सभापति अयुब अन्सारीले मतदानका क्रममा गफार अन्सारी पक्षबाट धाँधली भएको आरोप लगाएका छन्। यता गफार अन्सारीले भने मतपेटिकामा लात हानेर लडाएपछि विवाद उत्पन्न भएको आरोप लगाएका छन्।

सभापतिका उम्मेदवार मनोज साहले समेत आफूलाई कुटपिट गरिएको दाबी गरेका छन्। घटनाका क्रममा उम्मेदवार तथा केही मतदाता घाइते भएको बताइएको छ।

विवादपछि अयुब अन्सारी पक्षले विरोधस्वरूप पूर्व–पश्चिम राजमार्गअन्तर्गत लौकहीस्थित सिटी भवन अगाडि केही समय सडकसमेत अवरुद्ध गरेको थियो।

निर्वाचन स्थगित गरिए पनि पुनः मतदान कहिले र कुन प्रक्रियाबाट सञ्चालन गर्ने भन्नेबारे भने केन्द्रीय निर्वाचन समितिले नयाँ मिति तोकेको छैन। निर्वाचनसम्बन्धी आगामी निर्णय केन्द्रबाटै हुने निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800