इनरुवा, १५ असोज । सुनसरीको बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडक खण्डबाट प्रहरीले ५६४ किलोग्राम गाँजासहित एउटा सुमो गाडी नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार जाँचका क्रममा बा १२ च १७३८ नम्बरको सुमो गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय सितागञ्ज, प्रहरी चौकी अमडुवा र सशस्त्र प्रहरी बलको बीओपी अमडुवाबाट खटिएको संयुक्त प्रहरी टोलीलाई देखेपछि गाडी चालक सुमो छाडेर फरार भएका थिए।
बरामद गरिएको गाँजा र सुमो गाडीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको प्रहरीले जनाएको छ।
फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।