इनरुवा, १६ असोज । स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुका साथै रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले इटहरीमा सातदिने ‘सीप तथा रोजगार मेला–२०८३’ सञ्चालन भइरहेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेलाको बुधबार सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ।
कोशी प्रदेशलाई केन्द्रमा राखेर आयोजना गरिएको मेलामा रोजगारीको खोजीमा रहेका युवाले विभिन्न रोजगारीका अवसरबारे जानकारी लिनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गर्न पाउनेछन्। मेलामा सीप विकाससम्बन्धी परामर्श, छोटो अवधिका तालिम तथा रोजगारी प्राप्तिका लागि आवश्यक सेवासमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ।
मेलामा एक सयभन्दा बढी रोजगारदाता तथा तालिम प्रदायक संस्था सहभागी भएका छन्। विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा रोजगारदाता क्षेत्रका ७५ भन्दा बढी स्टल राखिएका छन्। तीनै तहका सरकार, निजी क्षेत्र तथा विकास साझेदारबीचको सहकार्यमा मेला आयोजना गरिएको हो।
मेलामा सहभागी युवाले आफूले खोजेको काम, त्यसका लागि आवश्यक योग्यता र सीप तथा रोजगारदाताले खोजिरहेको जनशक्तिबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। रोजगारदाताले पनि आवश्यक जनशक्तिको माग प्रस्तुत गर्नुका साथै सम्भावित उम्मेदवारसँग प्रत्यक्ष भेटघाट, अन्तर्वार्ता तथा छनोट प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरिएको छ।
मन्त्रालयका अनुसार मेला रोजगारीसम्बन्धी सूचना उपलब्ध गराउने थलोमा मात्र सीमित नभई सीप विकासदेखि रोजगारी प्राप्तिसम्मको प्रक्रियालाई एउटै स्थानमा जोड्ने उद्देश्यले आयोजना गरिएको हो।
मेलामा रोजगारीसम्बन्धी परामर्श सेवा, डिजिटल मार्केटिङ तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सीपमूलक तालिम, नवप्रवर्तन तथा उद्यमशीलतासम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन्। यसका साथै लामो अवधिका तालिम तथा रेफरल सेवासमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ।