इनरुवा, १९ असोज । नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनमा उत्पन्न विवाद थप चर्किएको छ। क्षेत्रीय सभापतिका उम्मेदवार मनोज कुमार साहले गफार अन्सारीलाई दिइएको प्रमाणपत्र तथा निर्वाचन परिणाम खारेज गर्न माग गरेका छन्।
निर्वाचन प्रक्रिया निष्पक्ष नभएको र मतदान प्रक्रिया स्थगित भएको अवस्थामा हतारमा अन्सारीलाई सभापतिमा चयन गरी प्रमाणपत्र दिइएको भन्दै साहले आपत्ति जनाएका हुन्।
साहले निर्वाचन प्रक्रियामा देखिएका अनियमितताबारे निर्वाचन अधिकृतसमक्ष औपचारिक उजुरी दर्ता गराएको बताएका छन्। उनले केन्द्रीय निर्वाचन समितिसमक्ष केन्द्रबाटै नयाँ निर्वाचन समिति गठन गरी पारदर्शी ढंगले पुनः मतदान प्रक्रिया सञ्चालन गर्नसमेत माग गरेका छन्।
आफूले उम्मेदवारी फिर्ता नलिएको र कुनै पनि उम्मेदवारको पक्षमा सहमति नजनाएको स्पष्ट पार्दै साहले सहमतिको नाममा निर्वाचन प्रक्रिया पूरा नगरी परिणाम निर्धारण गर्ने प्रयास भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
उनले आफ्नो लडाइँ कुनै व्यक्ति विशेषविरुद्ध नभई उम्मेदवारीको अधिकार, मतदाताको मतको सम्मान र लोकतान्त्रिक निर्वाचन प्रक्रियाको संरक्षणका लागि भएको बताएका छन्।
यसअघि क्षेत्रीय सभापतिका लागि गफार अन्सारी र मनोज कुमार साहबीच प्रतिस्पर्धा हुने अवस्था बनेको थियो। तर, मतदान प्रक्रियालाई लिएर विवाद उत्पन्न भएपछि निर्वाचन प्रभावित बनेको थियो। विवादपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्थगित गरी आवश्यक निर्णय गर्ने जनाएको थियो।
पछिल्लो सहमतिअनुसार अन्सारीलाई क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन गरिएको जनाइए पनि साहले त्यसलाई अस्वीकार गर्दै आएका छन्। उनले निर्वाचन प्रक्रिया र मतगणनाको निष्पक्षता सुनिश्चित नगरी घोषणा गरिएको परिणाम स्वीकार्य नहुने बताएका छन्।
सुनसरी–४ मा कांग्रेसको क्षेत्रीय अधिवेशनलाई लिएर देखिएको विवादले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाएको छ।