इनरुवा ,१९ असोज । नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र नम्बर २ र ४ मा अधिवेशन प्रक्रिया विवादित बनेको छ। निर्वाचन प्रक्रिया चलिरहेका बेला मतदान स्थगित गरी सहमतिको नाममा प्रतिनिधि चयन गरिएको तथा प्रक्रिया पूरा नगरी प्रमाणपत्र वितरण गरिएको भन्दै नेताहरू र उम्मेदवारहरूले पार्टी नेतृत्वमाथि छलकपट र मनोमानी गरेको आरोप लगाएका छन्।
सुनसरी–४ मा क्षेत्रीय सभापतिका उम्मेदवार मनोजकुमार साहले गफार अन्सारीलाई प्रदान गरिएको निर्वाचित भएको प्रमाणपत्र र निर्वाचन परिणाम खारेज गर्न माग गरेका छन्। निर्वाचन प्रक्रिया निष्पक्ष नभएको र मतदान स्थगित भएको अवस्थामा हतारमा अन्सारीलाई सभापतिमा चयन गरी प्रमाणपत्र दिइएको भन्दै साहले आपत्ति जनाएका हुन्।
साहले निर्वाचन प्रक्रियामा भएका भनिएका अनियमितताबारे केन्द्रीय निर्वाचन अधिकृतसमक्ष औपचारिक उजुरी दर्ता गराएको बताएका छन्। उनले केन्द्रबाटै नयाँ निर्वाचन समिति गठन गरी पारदर्शी ढंगले पुनः मतदान प्रक्रिया सञ्चालन गर्न माग गरेका छन्।
आफूले उम्मेदवारी फिर्ता नलिएको र कुनै पनि उम्मेदवारसँग सहमति नगरेको स्पष्ट पार्दै साहले सहमतिको नाममा निर्वाचन प्रक्रिया पूरा नगरी परिणाम निर्धारण गर्न खोजिएको आरोप लगाएका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी न्यायोचित निर्णय गर्न माग गरेका छन्।
त्यस्तै, सचिव पदका उम्मेदवार सुनोज निरौलाले पनि गफार अन्सारी पक्षलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको विषयमा आपत्ति जनाएका छन्। नेताहरूको चाकरी गर्नुपर्ने अवस्थाको सिर्जना भएको भन्दै उनले निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाएका छन्।
महाधिवेशन प्रतिनिधिमा युवा समूहका उम्मेदवार अभिषेक खेरवारले पनि एकपक्षीय र मनोमानी ढंगले एक पक्षलाई निर्वाचित घोषणा गरिएको आरोप लगाएका छन्।
यसैगरी, सुनसरी–२ मा पनि महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया विवादमा परेको छ। मतदान जारी रहेकै अवस्थामा प्रक्रिया रोकेर सहमतिको नाममा ३३ जना प्रतिनिधिको सूची केन्द्रमा पठाइएपछि कांग्रेसभित्र असन्तुष्टि चुलिएको हो।
प्राप्त विवरणअनुसार मतदान केन्द्रमा आधाभन्दा बढी मतदाताले मतदान गरिसकेको अवस्थामा एकाएक मतदान स्थगित गरिएको थियो। त्यसपछि क्षेत्रीय समितिको लेटरहेडमा ३३ जनाको नाम समावेश गरिएको सूची निर्वाचन अधिकृतसमक्ष बुझाइएको थियो। मतदान प्रक्रियालाई बीचमै रोकेर प्रतिनिधि चयन गरिएको भन्दै असन्तुष्ट पक्षले यसलाई लोकतान्त्रिक विधिविपरीतको कदम भनेको छ।
सहमतिको सूची सार्वजनिक भएपछि त्यसमा नाम समावेश भएका नेताहरूले समेत असहमति जनाएका छन्। युवा नेता सिजन गुरुङले सामाजिक सञ्जालमार्फत आफू सूचीमा समावेश भए पनि त्यसप्रति पूर्ण असहमति रहेको जनाउँदै निर्वाचन प्रक्रिया पारदर्शी रूपमा अघि बढाउन माग गरेका छन्। उनले आफ्नो स्थानमा इच्छुक र योग्य व्यक्तिलाई जिम्मेवारी दिनसमेत आग्रह गरेका छन्।
त्यस्तै, युवा नेता सुरज राई ‘सूर्य’ले क्षेत्रीय समितिको लेटरप्याड दुरुपयोग गरी निर्वाचन प्रक्रिया हाइज्याक गरिएको आरोप लगाएका छन्। नेताहरू पराजित हुने डरले मतदान रोकिएको दाबी गर्दै उनले निर्वाचनमा सहभागी मतदाताको निर्णयलाई सम्मान गर्नुपर्ने बताएका छन्।
क्षेत्रीय समितिले सार्वजनिक गरेको ३३ जनाको सूचीमा राजिव कोइराला, राजिव ढुंगाना, केदार भण्डारी, सिताराम मेहता, लिलामणी सुवेदी, संजयप्रसाद श्रेष्ठ, हेमकर्ण पौडेल, मणिराम श्रेष्ठ, भीमबहादुर पौडेल, सिजन गुरुङ, दिलकुमारी राई, ज्योती सुब्बा, कमला दाहाल खतिवडा, बिमला सिवाकोटी ढकाललगायत रहेका छन्।
सुनसरी–२ र ४ दुवै क्षेत्रमा निर्वाचन प्रक्रिया स्थगित हुनु, सहमतिको आधार स्पष्ट नहुनु र प्रतिनिधि तथा पदाधिकारी चयनमा एकपक्षीय निर्णय भएको आरोप लाग्नुले कांग्रेसको आन्तरिक लोकतन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ।
नेतृत्व तहमा सहमति भएको दाबी गरिए पनि सहमतिमा सहभागी नभएका उम्मेदवार तथा सूचीमा नाम परेका नेताहरूले नै विरोध जनाएपछि सहमतिको वैधता र प्रक्रियामाथि प्रश्न उठेको छ।