इनरुवा, २४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले आफूले चमत्कार गर्छु भनेर वाचा नगर्ने, तर इमानदार प्रयास गर्ने बताएका छन्।
सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए।
‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ। यो जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ। यो परिवर्तनका लागि गरिएको विश्वास हो। यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छु,’ उनले भने।
विशेष महाधिवेशनपछि सम्पन्न १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उनको भनाइ थियो। पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढाउनुपर्नेमा उनले जोड दिए।
महाधिवेशनमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको उल्लेख गर्दै थापाले अब जित्ने र हार्ने पक्ष नभई सबै नेता तथा कार्यकर्ता एकजुट भएर नागरिकको विश्वास जित्न लाग्नुपर्ने बताए।
‘महाधिवेशनमा प्रतिस्पर्धा भयो। कोही जित्छौँ, कोही हार्छौँ। यो कसैले विजय प्राप्त गर्ने र कसैले हार्ने विषय होइन। अब हामी सबै साथी मिलेर नागरिकको विश्वास जित्न जाने हो,’ थापाले भने।