इनरुवा, ११ कात्तिक। बंगालको खाडीमा विकसित शक्तिशाली समुद्री चक्रवात ‘अर्नब’को सम्भावित प्रभावलाई ध्यानमा राख्दै सुनसरीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जिल्लावासी तथा सम्पूर्ण नागरिकलाई सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन अपिल गर्नुभएको छ।
भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रतर्फ अघि बढिरहेको चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा समेत पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। यसको प्रभावले कात्तिक १२ गते बिहीबार रातिदेखि वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबारदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउन सम्बन्धित निकाय तथा सुरक्षा अंगलाई पूर्वतयारी अवस्थामा रहन आग्रह गरेको जनाएको छ।
चक्रवातको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिँदा मौसममा परिवर्तन हुन सक्ने मौसमविद्हरूको भनाइ छ। यद्यपि, तत्काल आत्तिनुपर्ने अवस्था नरहेको र सावधानी अपनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै नागरिकलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न, अनावश्यक यात्रा नगर्न तथा जोखिमयुक्त स्थानमा सतर्क रहन आग्रह गरिएको छ। विशेषगरी नदी तथा खोलानाला आसपासका बासिन्दा, किसान, यात्रु र विपद्को जोखिममा रहेका समुदायलाई सचेत रहन सुझाव दिइएको छ।
यसैगरी, पर्यटक, पदयात्री तथा पर्वतारोहणमा जानेहरूलाई उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा नगर्न आग्रह गरिएको छ। प्रतिकूल मौसममा यात्रा गर्नुभन्दा सुरक्षित स्थानमा बस्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सबै नागरिक, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित संघसंस्थालाई आवश्यक तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ।
