इनरुवा, २६ कार्तिक ।सुनसरीको इनरुवा नगरपालिकामा पशुचौपायामा लाग्ने खोरेत रोग (Foot and Mouth Disease) विरुद्धको खोप कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको सहयोग र इनरुवा नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको यो अभियानलाई इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले शुभारम्भ गरेका हुन्।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवका अनुसार, खोरेत रोगको संक्रमणले पशुधनीमा ठूलो आर्थिक क्षति पु¥याउने भएकाले यसलाई रोकथाम गर्न खोप अभियान सुरु गरिएको हो। उनले भने, “कोशी प्रदेशका पशुजन्य उत्पादन अन्य देशमा निर्यात गर्न रोगमुक्त घोषणा आवश्यक भएकाले हाल इलाम लगायत कोशी प्रदेशका सबै जिल्लामा खोप अभियान चलाइँदैछ।”
शुभारम्भ कार्यक्रममा बोल्दै उपप्रमुख विनिता कुमारी मेहताले सबै पशुपालक किसानलाई आफ्ना पशुचौपायामा अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिन्। उनले भनिन्, “रोगका कारण किसानले ठूलो आर्थिक घाटा बेहोर्नु परेको छ, त्यसैले खोप लगाउनु जरुरी छ।”
नगर प्रमुख केदार भण्डारीले पनि यस अभियानलाई सफल बनाउन जनचेतना फैलाउन र प्रचार–प्रसारमा जोड दिन आग्रह गरे। उनले भने, “पशुचौपायालाई रोगमुक्त बनाउन सके किसानको आर्थिक अवस्था सुधार हुनेछ र देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ।”
इनरुवा पशु सेवा शाखाका प्रमुख डा. राजकुमार यादवका अनुसार, खोप अभियान कार्तिक २६ देखि मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ। उनले यसका लागि तालिम प्राप्त खोपकर्ताहरू (भ्याक्सिनेटर) परिचालन गरिएको जानकारी दिए।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोज कुमार महतोले पनि सुनसरीका सबै पालिकामा कार्तिक २३ देखि एक महिना सम्म निशुल्क खोप कार्यक्रम सञ्चालन भइरहेको बताए।
यस कार्यक्रम अन्तर्गत कोशी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले “खोरेत रोग नियन्त्रण आयोजना” सञ्चालन गरेको छ। पहिलो चरणमा १२ लाख गाईभैंसीमा खोरेत रोग विरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ।
शुभारम्भ कार्यक्रममा इनरुवा नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौला, कार्यपालिका सदस्यहरू, कर्मचारी तथा किसानहरूको उपस्थिति रहेको थियो।