इनरुवा, २८ कार्तिक । मधेश प्रदेशमा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएको वातावरणकै बीच सभामुखले पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन्। लगातार दस वटा बैठकमा बिना जानकारी अनुपस्थित रहेको आधारमा उनीहरूलाई कारबाही गरिएको हो।
पदमुक्त हुनेमा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जसपा नेपालबाट मनिष कुमार सुमन (सप्तरी), सञ्जय कुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर प्रसाद कलवार रहेका छन्।
सभामुख मण्डलले यस विषयमा जारी गरेका सूचनामा नेपालको संविधानको धारा १८० को व्याख्या गर्दै प्रदेशसभा सदस्यको स्थान रिक्त हुने अवस्था उत्पन्न भएको उल्लेख गरिएको छ। संविधानको धारा १८०(घ) अनुसार प्रदेशसभालाई जानकारी नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा सम्बन्धित सदस्यको पद स्वतः रिक्त हुने व्यवस्था छ।
सभामुखले सार्वजनिक गरेको सूचनामा भनिएको छ “मधेश प्रदेश सभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० बमोजिम लगातार १० बैठक अनुपस्थित रहेका तल उल्लेखित माननीय सदस्यहरू मिति २०८२/०७/२७ गतेदेखि प्रदेश सभा सदस्यबाट पदमुक्त भएको हुँदा उनीहरूको स्थान रिक्त भएको जानकारी प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८५ बमोजिम सूचित गरिन्छ।”
यो कारबाही हालै दर्ता भएको सभामुखविरुद्धको अविश्वास प्रस्ताव र सत्ता–राजनीतिक उतारचढावसँग जोडिएर व्यापक चर्चा भइरहेको छ।
