इनरुवा, १० पुस । सरकारी कार्यालयमा कार्यालय प्रमुखको दरबन्दी तोकिएको तह /श्रेणी अनुसार स्वीकृत हुने व्यवस्था छ । तोकिएको दरबन्दी अनुसार कर्मचारी नहुँदा वा पद रिक्त रहेको अवस्थामा कानुनले बरिष्ठतम् कर्मचारीलाई निमित्तको जिम्मेवारी दिनुपर्ने प्रावधान ऐनले गरेको छ । तर सुनसरी जिल्ला अस्पतालमा सो प्रावधान विपरीत अभ्यास भइरहेको पाइएको छ । जिल्ला अस्पताल सुनसरीमा हाल आठौँ तहका डाक्टरलाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारी दिइएको छ भने नवौँ तहका सिनियर डाक्टरलाई असिस्टेन्टमा राखिएको छ ।
हाल निमित्त मेसुका रूपमा कार्यरत डा. अमिताभ ठाकुर आठौँ तहका कर्मचारी हुन् । तर सोही अस्पतालमा कार्यरत डा.अमरेश कुशवाहा नवौँ तहका कर्मचारी हुँदाहुँदै पनि उनलाई मेसुको जिम्मेवारी नदिई जुनियरको मातहतमा राखिएको छ । यसै बिषयमा मेसु डा.ठाकुर संग बुझ्न फोन सम्पर्क गर्दा उनले फोन उठाए अनि कुरा नगरि काटे ।
डा. कुशवाहा कोशी प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नवौँ तहमा नियुक्त भई यसै वर्षको वैशाखदेखि सुनसरी जिल्ला अस्पतालमा कार्यरत छन् । उनले आफू अस्पतालका बरिष्ठतम् चिकित्सक हुँदाहुँदै पनि जिम्मेवारी नपाएको गुनासो गरे ।
डा. कुशवाहाले भने, “मैले पटक–पटक कोशी प्रदेश स्वास्थ्य मन्त्रालय तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूलाई जिम्मेवारी दिन अनुरोध गरेँ, तर कसैले गम्भीरतापूर्वक लिएको छैन । म अस्पतालको सिनियर डाक्टर हुँ, म माथि अन्याय भएको छ।”
कोशी प्रदेश निजामती सेवा ऐन तथा नियमावली अनुसार बरिष्ठतम कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिनुपर्ने व्यवस्था रहे पनि सो प्रावधानको उल्लङ्घन गर्दै जुनियर कर्मचारीलाई निमित्त प्रमुख बनाइएको देखिएको छ । यसले अस्पतालको प्रशासनिक व्यवस्थापनप्रति प्रश्न उठाएको छ ।
कनिष्ठ कर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिने र बरिष्ठतम् कर्मचारीलाई असिस्टेन्ट बनाउने व्यवस्था कोशी प्रदेश निजामती सेवा ऐन विपरीत रहेको छ। तर राजनीतिक पहुँच र आर्थिक लेनदेनका कारण कनिष्ठलाई नै प्रमुखको जिम्मेवारी दिइएको नाम नउल्लेख गर्ने शर्तमा एक कर्मचारीले बताए ।
उनका अनुसार, जुनियर निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)लाई ‘दयाँवायाँ गरे हटाइदिने भन्दै दबाबमा राख्ने र आर्थिक चलखेल गर्न सहज हुने भएकाले बरिष्ठ कर्मचारीलाई जिम्मेवारी नदिइएको ठोकुवा गरे ।
ती कर्मचारीले डा. ठाकुर आर्थिक व्यवस्थापनमा माहिर रहेको र उनले स्वास्थ्य मन्त्रालयदेखि सुनसरी जिल्ला अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूसम्म आर्थिक व्यवस्थापन गर्दै आएको दाबी गरे । यही कारण बरिष्ठ कर्मचारी हुँदाहुँदै पनि जुनियरलाई मेसु बनाएर निरन्तर राखिएको उनले बताए ।
कानुनी व्यवस्था के छ ?
कोशी प्रदेश निजामती सेवा ऐन, २०७९ को व्यवस्था विपरीत जिल्ला अस्पताल सुनसरीमा निमित्त प्रमुखको जिम्मेवारी तोकिएको छ।
कोशी प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा २३ को उपदफा (४) अनुसार प्रदेश निजामती सेवाका कुनै कार्यालय प्रमुख कुनै कारणले कार्यालयमा अनुपस्थित भएमा वा सरुवा भई पद रिक्त भएमा, सो कार्यालय मातहतको दरबन्दी, विशेष दरबन्दी वा रिक्त दरबन्दीमा काजमा खटिएको कर्मचारीहरूमध्ये बरिष्ठतम् कर्मचारीले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ।


ऐनमा उल्लेख भएअनुसार जिल्ला अस्पताल सुनसरीमा हाल नवौँ तहका एक मात्र कर्मचारी डा. कुशवाहा कार्यरत रहेका छन्। ऐन अनुसार उनलाई नै निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिनुपर्ने भए पनि त्यसको सट्टा आठौँ तहका कर्मचारीलाई निमित्त प्रमुख बनाइएको छ।
निमित्त मेसु डा. ठाकुर भ्रष्ट भएको आरोप :
इनरुवा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष अनिल पोखरेल र इनरुवा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. अमिताभ ठाकुरबीच देखिएको विवाद गुपचुप रूपमा मिलाइएको छ।
वडाध्यक्ष पोखरेलले केही समयअघि इनरुवा अस्पताल “भ्रष्ट मेसुको भरमा चलेको” आरोप लगाउँदै डा. ठाकुर विरुद्ध अभियान चलाउन इनरुवावासीलाई फेसवुक मार्फत आह्वान गरेका थिए। उक्त अभिव्यक्तिपछि विवाद चर्किएको थियो।

यसैबीच डा. ठाकुरले पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष पोखरेलले बुहारीलाई अस्पतालमा जागिर नलगाइदिएको निहुँमा आफूलाई “ठिक पार्ने” धम्की दिएको आरोप लगाएका थिए। उनले विगत एक महिनादेखि पटक–पटक धम्कीपूर्ण व्यवहारका कारण मानसिक तनाव झेल्नुपरेको भन्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाएका थिए।
डा. ठाकुरले आफू असुरक्षित बनेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पनि बोधार्थ ज्ञापनपत्र दिएका थिए। साथै, अस्पताल सञ्चालन र व्यवस्थापनमा अनावश्यक दबाब, धम्की र हस्तक्षेप भएको आरोप लगाउँदै वडाध्यक्ष पोखरेल विरुद्ध कानुनी प्रक्रियामा जाने तयारी गरेको बताएका थिए।
तर पछिल्लो समय उक्त विवाद आपसी सहमतिमा मिलाइएको बताइएको छ। वडाध्यक्ष पोखरेलले पपुलर न्यूज सँगको कुराकानीमा आफू र मेसुबीच भएको विवाद समाधान भइसकेको जानकारी दिए।
यद्यपि, कुन विषयमा र कसरी वडाध्यक्ष र मेसुबीच मेलमिलाप भयो भन्ने विषय सार्वजनिक गरिएको छैन। यसले सार्वजनिक सरोकारको विषय भए पनि घटनाको पारदर्शी जानकारी नआएको भन्दै स्थानीय स्तरमा विभिन्न प्रश्न उठ्न थालेका छन्।
चिकित्सक संघको दबाव :
कोशी प्रदेशमा कार्यरत चिकित्सहरुको मेसुको जिम्मेवारी प्रदेशमा दरबन्दी रहेका चिकित्सहरुलाई दिनुपर्ने माग गरेको छ ।
कोशी प्रदेशमा हाल १० औं तहका २ जना, ९ औं तहका १० जना र ८ औं तहका १८ जना चिकित्सक कार्यरत छन् । हाल प्रदेशमा ९ औं तहमा कार्यरत चिकित्सकहरू डा. अमरेश कुशवाहा, डा. सुभाष अधिकारी, डा. एलिजा गौतम, डा. आस्था सुब्बा, डा. विद्या भुषाल र डा. आकाश कोइरालाले अहिलेसम्म मेसुको जिम्मेवारी पाएका छैनन् ।
डा.ठाकुरको सरुवा :
सेटिड मिलाउन माहिर सुनसरी जिल्ला अस्पतालका मेसु डा.ठाकुरलाई खोटाडको मेसु बनाउने गरि सरुवा गर्ने निर्णय गरेको छ । डा. ठाकुरलाई स्वास्थ्य मन्त्री भुपेन्द्र राईको गृहजिल्ला खोटाङ अस्पतालको मेसु बनाउने निर्णय भएको छ ।
स्वास्थ्य मन्त्रालयले १७ मंसिरमा सरुवाको प्रस्ताव सहित फाइल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएपनि २२ दिन बितिसक्दा समेत सहमति प्राप्त हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले १० जना कार्यालय प्रमुखको सरुवा सिफारिस गरिएको पुष्टि गर्दै मुख्य सचिव नहुँदा प्रक्रिया ढिलाइ भएको बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सचिव एकदेव अधिकारीले मुख्य सचिव आइसकेकाले अब फाइल अघि बढ्ने दाबी गरे ।
स्वास्थ्य मन्त्री भुपेन्द्र राईले डा.ठाकुरलाई आफ्नो गृहजिल्लामा सरुवा गरेको छ । स्रोतका अनुसार मन्त्री राई सँग राम्रै साँठगाँठ भएकोले जेष्ठतम् कर्मचारीलाई मेसुको जिम्मेवारी नदिएर कनिष्ठलाई जिम्मेवारी दिएको बताउँछन । साथै जिल्ला अस्पताल खोटाडमा मन्त्री राईले बजेट धेरै हालेकोले अनुकुलको मेसु लैजान सरुवा गरि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सहमतिको लागि पठाएको बताउँछन ।