काठमाडौँ, ३ माघ । निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएसँगै नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समिति बैठक बोलाएका छन् ।
केन्द्रीय समिति बैठक आज बिहान ११ः३० बजे काठमाडौँको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने जनाइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति तथा संगठनात्मक विषयमा छलफल हुने बताइएको छ ।
शुक्रबार निर्वाचन आयोगबाट नेपाली कांग्रेसको आधिकारिकता पाएपछि थापा पार्टीका तर्फबाट प्रत्यक्ष निर्वाचनका उम्मेदवार चयनलगायत गतिविधिमा सक्रिय भएका छन् ।
पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा नेपाली कांग्रेसको सभापतिमा चयन भएका थिए । सभापति चयनपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले निर्वाचन आयोगमा आधिकारिकताको दाबी गर्दै आवश्यक कागजात पेस गरेको थियो ।
यसअघि शेरबहादुर देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको दाबी गर्दै आयोगमा छुट्टै कागजात बुझाएको थियो । तर निर्वाचन आयोगको निर्णयसँगै नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रुख’ र चारतारे झण्डा देउवा पक्षले गुमाएको छ ।