रेशम चौधरीलाई चुनाव लड्न रोक्नु अन्यायपूर्ण : लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग

Logo
Popular News आइतबार, माघ १२, २०८२

 

इनरुवा, ११ माघ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई चुनाव लड्न दिनुपर्ने मागसहित सुनसरीको इनरुवामा आज विरोध र्‍यालीको आयोजना गरिएको छ ।

राष्ट्रिय मुक्ति पार्टीका महासचिव तथा सुनसरी निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सन्तोष मेहताको अगुवाइमा आयोजित र्‍यालीमा रेशम चौधरीले राष्ट्रपतिबाट आममाफी पाइसकेको अवस्थामा पनि चुनाव लड्न नदिन खोज्नु अन्यायपूर्ण र संविधानविपरीत भएको आरोप लगाइएको छ ।

र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै महासचिव मेहताले टिकापुर थरुहट आन्दोलन कुनै आपराधिक घटना नभई राजनीतिक आन्दोलन भएको स्पष्ट पारे । “टिकापुर थरुहट आन्दोलन राज्यद्वारा उपेक्षित थारु समुदायको अधिकार, पहिचान र स्वशासनका लागि उठेको राजनीतिक आन्दोलन हो,” उनले भने, “यसलाई जबरजस्ती आपराधिककरण गरेर नेतृत्वलाई राजनीतिबाट अलग्याउने प्रयास स्वीकार्य हुँदैन ।”

मेहताले राज्यले गठन गरेको लाल आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिनु गम्भीर विषय भएको उल्लेख गर्दै तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरे । उनका अनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक भए टिकापुर घटनाको वास्तविकता जनतासामु आउने र आन्दोलनप्रति गरिएको अन्याय स्वतः उजागर हुने छ । “प्रतिवेदन लुकाएर सत्य दबाउन खोज्नु लोकतान्त्रिक अभ्यास होइन,” उनले थपे ।

उनले मुलुकका अन्य थुप्रै राजनीतिक नेता विभिन्न मुद्दा, विवाद र सजाय भोगेर पनि चुनाव लडिरहेको उदाहरण प्रस्तुत गर्दै रेशम चौधरीलाई मात्र रोक्नु दोहोरो मापदण्ड भएको बताए । “राष्ट्रपतिबाट आममाफी पाइसकेपछि रेशम चौधरीले चुनाव लड्न पाउने संवैधानिक र कानुनी अधिकार छ,” मेहताले भने, “यो अधिकार कुण्ठित गर्नु भनेको थारु समुदाय र समग्र उत्पीडित वर्गमाथिको अपमान हो ।”

विरोध र्‍यालीमा सहभागीहरूले ‘रेशम चौधरीलाई चुनाव लड्न देऊ’, ‘लाल आयोग प्रतिवेदन सार्वजनिक गर’, ‘टिकापुर आन्दोलन राजनीतिक आन्दोलन हो’ लगायतका नारा लगाएका थिए । र्‍याली इनरुवाका विभिन्न भाग परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।

राष्ट्रिय मुक्ति पार्टीले आगामी दिनमा रेशम चौधरीको उम्मेदवारी सुनिश्चित गराउन देशव्यापी दबाबमूलक कार्यक्रम गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800