इनरुवा, १७ माघ । नेकपा एमालेले सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ का लागि निर्वाचन कमाण्डर तोकेका द्वारिकलाल चौधरी पार्टीभित्र ‘कहिले इन, कहिले आउट’ हुने नेताका रूपमा परिचित छन्।
पार्टी अनुशासन उल्लङ्घनको आरोपमा छ महिनाका लागि निलम्बनमा परेका चौधरीको निलम्बन फुकुवा गर्दै एमालेले उनलाई सुनसरी–२ को निर्वाचन कमाण्डरको जिम्मेवारी दिएको हो। स्थानीय नेताहरूका अनुसार थारु समुदायको मत आकर्षित गर्ने रणनीतिअन्तर्गत एमालेले चौधरीलाई पुनः सक्रिय भूमिकामा ल्याएको हो।
चौधरी यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति सार्वजनिक आलोचना गर्दै आएका थिए। त्यसकै कारण आफू पार्टी नेतृत्वको निशानामा परेको उनको दाबी रहँदै आएको छ।आवश्यकता पर्दा प्रयोग गर्ने र स्वार्थ पूरा भएपछि बेवास्ता गर्ने प्रवृत्तिको शिकार उनी पटक–पटक बन्दै आएको पार्टीकै नेताहरू बताउँछन्।
२०७९ सालको निर्वाचनमा एमालेबाट टिकट नपाएपछि असन्तुष्ट बनेका चौधरी माओवादी केन्द्र प्रवेश गरी सुनसरी–२ (क) बाट प्रदेशसभा उम्मेदवार बनेका थिए। कांग्रेससहितको गठबन्धनको समर्थन हुँदाहुँदै पनि उनी एमाले उम्मेदवार रेवतीरमण भण्डारीसँग पराजित भएका थिए।
पराजयपछि केही समय राजनीतिक रूपमा निष्क्रिय देखिएका चौधरी करिब नौ महिनापछि पुनः एमालेमै फर्किएका थिए। २०८० असोजमा अध्यक्ष ओलीसँग भेट गरेपछि उनी औपचारिक रूपमा पार्टीमा सक्रिय बनेका हुन्। त्यसपछि २०८१ भदौमा उनलाई एमाले कोशी प्रदेश कमिटी सदस्यमा मनोनीत गरिएको थियो। तर जेन–जी आन्दोलनपछिका घटनाक्रम र वर्तमान निर्वाचनको मुखमै उनलाई पुनः छ महिनाका लागि निलम्बन गरिएको थियो।
हाल निलम्बन फुकुवा गर्दै निर्वाचन कमाण्डरको जिम्मेवारी दिइनुलाई एमालेभित्र अवसर र जोखिम दुवैका रूपमा हेरिएको छ। चौधरीको स्थानीय प्रभावले मत समीकरण बदलिन सक्ने आँकलन गरिए पनि उनको अघिल्लो राजनीतिक उतार–चढाव र २०७९ को प्रदेशसभा पराजयले पार्टीभित्र प्रश्नहरू उठेका छन्।
स्वयं निर्वाचनमा पराजित भइसकेका चौधरीले अहिले पार्टी उम्मेदवारलाई कति प्रभावकारी रूपमा जिताउन सक्छन् भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ।